नयाँ दिल्ली । भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानले करिब १७५ वर्ष पुरानो शिव मन्दिर गंगामै विलीन भएको छ।
रातुआ क्षेत्रको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ नदीमा खसेको हो। स्थानीयका अनुसार गत वर्षदेखि नै मन्दिर कटानको जोखिममा थियो। जोगाउन अस्थायी सुरक्षा उपाय अपनाइए पनि तीव्र कटानका कारण अन्ततः मन्दिर नै नदीमा समाहित भयो।
स्थानीय शिक्षक आलोक मण्डलका अनुसार उनीहरूको बाल्यकालमा मन्दिरबाट गंगा करिब १५ किलोमिटर टाढा थियो। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उक्त मन्दिरमा छिमेकी बिहारबाट समेत ठूलो संख्यामा भक्तजन आउने गरेका थिए।
यस क्षेत्रमा बाढी र कटानले व्यापक क्षति पुर्याएको छ। भूतनी टापुका ६२ भन्दा बढी गाउँ डुबानमा परेका छन् भने अस्पताल र प्रहरी चौकीसमेत प्रभावित भएका छन्।
गत वर्ष करिब ६ करोड ५० लाख भारु खर्चेर निर्माण गरिएको तटबन्ध भत्किएपछि त्यसको गुणस्तरमाथि समेत प्रश्न उठेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।



















प्रतिक्रिया