काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति भएको बताएका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै उनले भदौ २३ र २४ गतेको आन्दोलन कुनै दलको आह्वानमा नभई युवा पुस्ताको स्वस्फूर्त जागरण भएको बताए। आन्दोलनमा ज्यान गुमाउने सहिद र प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्तो घटना फेरि नदोहोरियोस् भन्ने कामना गरे।
लामिछानेले आन्दोलनका घाइतेको पूर्ण उपचार, दीर्घकालीन पुनर्स्थापना र सहिद परिवारको उचित हेरचाह राज्यको दायित्व भएको बताए।
उनले नागरिक समाज र जनतालाई रचनात्मक खबरदारी जारी राख्न आग्रह गर्दै आफ्ना कामको निर्मम समीक्षा गर्न तयार रहेको बताए। तर आम नागरिकमा निराशा फैलिन नदिनुपर्ने उनको भनाइ छ।
‘युवाको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदलौँ’ भन्दै लामिछानेले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट आफूहरू विचलित नहुने प्रतिबद्धता जनाए।





















प्रतिक्रिया