काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोग फैलिन नदिन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ।
सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पठाइँदैछ। जसअन्तर्गत रसुवाका लागि २१ हजार ६ सय डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ। रसुवामा भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यस्तै, नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ। नुवाकोटमा पनि यसै साताभित्र खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
खोप वडा कार्यालयस्तरमा स्वास्थ्य स्वयंसेविकामार्फत प्रभावित क्षेत्रका नागरिकलाई दिइनेछ। १ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिइने जनाइएको छ।
यसैगरी, बाढी प्रभावित रसुवा र नुवाकोटमा टिडी तथा दादुरा–रुबेला खोप अभियान समेत सञ्चालन गरिने भएको छ। उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।
दादुरा–रुबेला खोप भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी दुई साताभित्र सञ्चालन गर्ने सरकारको योजना छ।
बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको हो।
खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।



















प्रतिक्रिया