काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिको कडा खण्डन गर्दै बिनाप्रमाण भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक भएको जनाएको छ।
सङ्घले बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार र अशोभनीय भएको भन्दै शब्द फिर्ता लिन माग गरेको छ।
ग्यास अभाव सिर्जना हुनुमा आधा सिलिन्डरको व्यवस्था लामो समयसम्म कायम रहनु, ग्यास आयातमा ढिलाइ, पूर्ण सिलिन्डर लागू भएपछि माग बढ्नु तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी प्रभावित हुनुजस्ता कारण रहेको सङ्घको दाबी छ।
कुनै उद्योगले कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनी कारबाहीमा आफूहरूको साथ रहने भन्दै सङ्घले बिनाप्रमाण उद्योगीलाई दोषी देखाएर भौतिक कारबाहीको संकेत गर्नु स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, समस्या समाधानका लागि वस्तुनिष्ठ समीक्षा र सरकारसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।





















प्रतिक्रिया