काठमाडौँ । पैसा अभावमा एक सुत्केरी महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको दर्दनाक घटना प्रतिनिधिसभामा उठेको छ।
रास्वपा सांसद खगेन्द्र कर्णले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार हरेराम पासवानकी श्रीमती बबिता पासवान सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुगेकी थिइन्।
अस्पतालले ३२ सय रुपैयाँको बिल तिर्नुपर्ने बताए पनि उनीहरूसँग २५ सय रुपैयाँ मात्रै भएको कर्णले बताए। ७ सय रुपैयाँ अभावकै कारण उपचारमा समस्या भएपछि महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको उनको भनाइ छ।
अस्पतालजस्तो संवेदनशील स्थानमा गरिब महिलाले उपचार नपाएर बाहिरै बच्चा जन्माउनुपर्ने अवस्था स्वास्थ्य प्रणालीकै लागि लज्जाको विषय भएको भन्दै कर्णले तत्काल छानबिन गर्न माग गरे।
उनले घटनाको सत्यतथ्य संसद्मा पेस गर्न र दोषी देखिए कारबाही गर्न सरकारसँग माग गर्दै पैसा अभावकै कारण नागरिकले उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।




















प्रतिक्रिया