पाता कस्नुपर्छ’ भन्दै व्यवसायीमाथि खनिएकी मन्त्री यादवले किन छोडिन् पद?


काठमाडौं । ग्यास अभाव र कालोबजारीमा उद्यमी व्यवसायीको बदमासी रहेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।

मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सिंहदरबारमा भेटेर राजीनामा बुझाएकी हुन्। त्यसको अघिल्लो दिन संसद्को उद्योग समितिमा उनले ग्यास अभाव हुनुमा उद्योगी–व्यवसायीको भूमिका रहेको दाबी गर्दै ‘पाता नफर्काएसम्म ग्यास सहज नहुने’ बताएकी थिइन्।

उनले कर्मचारीले समेत उद्योगीको प्रभावमा काम गर्ने गरेको र करोडौँ रुपैयाँ लिएर ग्यास उद्योगको लाइसेन्स दिने गरेको आरोप लगाएपछि नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्यास उद्योगीहरूले आपत्ति जनाएका थिए।

मन्त्री यादव पछिल्लो समय ग्यास अभाव, मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनलाई लिएर विवादमा थिइन्। गत चैत २७ गते मन्त्री बनेकी यादवले पदबाट राजीनामा दिनुको कारण भने तत्काल सार्वजनिक रूपमा स्पष्ट गरेकी छैनन्।