नागरिक रोइरहेका छन्, सरकार कहाँ छ ? सांसदको कडा प्रश्न


काठमाडौं । नागरिकले भोगिरहेका ग्यास अभाव, स्वास्थ्य सेवाको बेथिति, विपद्पछिको उद्धार तथा पुनर्निर्माणमा ढिलाइ र जनप्रतिनिधिबाटै भएको कुटपिटका घटनालाई लिएर बिहीबार प्रतिनिधिसभामा सांसदहरूले सरकारको कडा आलोचना गरेका छन्।

सांसद सीता थपलियाले नागरिकलाई ग्यास चाहिएको बेला धम्कीको भाषा प्रयोग गरिएको भन्दै उद्योगमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाइन्। ग्यास अभावकै विषयमा सांसद हरिमोहन भण्डारीले संसदीय समितिको सदस्यबाट राजीनामा घोषणा गरे भने बोधनारायण श्रेष्ठले वितरण प्रणाली सुधार्न माग गरे।

सांसद अंकिता ठाकुरले सप्तरीमा अस्पतालको गेटमै बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य क्षेत्रको गम्भीर बेथितिको उदाहरण बताइन्। यस्तै, मुस्ताङ भूकम्प र रसुवा बाढीपीडितको उद्धार तथा राहतमा तीव्रता दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

विपद्पछिको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै सांसद विपिनकुमार आचार्यले सिंहदरबार र संसद् भवन अझै क्षतिग्रस्त अवस्थामा रहनु सरकारको सुस्तताको उदाहरण भएको बताए। पाल्पामा वडाध्यक्षकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको विषय उठाउँदै सांसद माधवबहादुर थापाले जनप्रतिनिधिले कानुन हातमा लिन नहुने चेतावनी दिए।