सेयर बजार सुधारका लागि सरकारको विशेष योजना, सोमबारसम्म १०/१२ बुँदे कार्यक्रम सार्वजनिक हुने


काठमाडौं – सरकारले पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजार सुधारका लागि विशेष योजना ल्याउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएको शिथिलता हटाउन सरकारले करिब दर्जन सुधारका योजना अघि सार्न लागेको जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो सोमबारसम्म सेयर बजार सुधारका लागि १० देखि १२ बुँदे योजना सार्वजनिक गरिने बताएका हुन् ।

उनले भने, ‘आउने सोमबारसम्म सेयर बजारका सुधारका लागि १०/१२ बुँदे योजना आउँछ ।

अर्थमन्त्री वाग्लेले उक्त योजनाले सेयर बजारसँगै समग्र अर्थतन्त्रलाई समेत सुधारको दिशामा अघि बढाउन सहयोग पुग्ने दाबी गरे । पछिल्लो समय सेयर बजार शिथिल भएकाले त्यसलाई चलायमान बनाउनुपर्ने विषयमा सरकारभित्र छलफल भइरहेको उनले बताए ।

‘शेयर बजार शिथिल भयो, यसलाई झकझक्याउनुपर्‍यो भन्ने कुरा आएका छन्,’ उनले भने, ‘कर्जाका कारण भएका विकृतिहरूलाई चिर्दै सरकारले काम गरिरहेको छ । संवेदनशील भएर सुधार गर्नुपर्नेछ ।’

लगातारको बजार गिरावटप्रति प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले समेत चासो राखेको अर्थमन्त्री वाग्लेले बताए ।

उनले विगतमा भएका कमजोरी र गल्तीलाई दोहोर्‍याउने छुट वर्तमान सरकारलाई नभएको पनि स्पष्ट पारे । पूँजी बजारमा दीर्घकालीन सुधार ल्याउने गरी सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।