एमाले बैठक लम्बिने भएपछि बीचमै सचिवालय बैठक


काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबारसम्म लम्बिने भएको छ । यसअघि बुधबार नै बैठक सक्ने तयारी भए पनि कार्यसूची र छलफलका लागि समय व्यवस्थापनबारे नेताहरूले प्रश्न उठाएपछि बैठक थप एक दिन लम्ब्याउने तयारी गरिएको हो ।

बुधबार बिहान केन्द्रीय कमिटी बैठककै बीचमा पार्टी सचिवालय बैठक बस्ने तय भएको छ । एमालेका एक नेताका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटीका लागि तय गरिएका कार्यसूची अनुमोदन गर्नेछ ।

एमालेले बैठकका लागि यसअघि नै नौवटा कार्यसूची तय गरेको थियो । तर ती कार्यसूची औपचारिक रूपमा अनुमोदन हुन बाँकी रहेको बताइएको छ । सचिवालयबाट कार्यसूची अनुमोदन भएपछि बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक पुनः सञ्चालन गर्ने तयारी छ ।

सोमबारदेखि जारी बैठकमा नेताहरूले लामो समयपछि केन्द्रीय कमिटी बैठक बसेकाले धारणा राख्न चाहने सबै सदस्यलाई पर्याप्त समय दिनुपर्ने बताएका थिए । हाल तोकिएको समयले नपुग्ने भन्दै बैठकको अवधि बढाउनुपर्ने सुझाव नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका थिए ।

महासचिव शंकर पोखरेलले सोमबारको बैठकपछि अध्यक्ष ओलीलाई यसबारे जानकारी गराएका थिए । त्यसपछि बैठकलाई थप एक दिन निरन्तरता दिने तयारी भएको हो ।

बैठकको पहिलो दिन अध्यक्ष ओलीले ७८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा पार्टी नेतृत्व परिवर्तन तथा पुनर्गठनको विषय समावेश नभएको बताइएको छ ।

गत निर्वाचनपछि एमालेभित्र नेतृत्व पुनर्गठन र विशेष महाधिवेशनको बहस उठ्दै आए पनि अहिलेको बैठकमा उक्त विषयले प्राथमिकता नपाएको नेताहरूले बताएका छन् ।