संसद्मा खतिवडाको भावुक सम्बोधन, पोखिए मनका कुरा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले आफ्नो संसद् यात्रा राजनीतिक पद वा रहरका लागि नभई न्यायको खोजीका लागि भएको बताएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै खतिवडा भावुक बनेकी थिइन् । उनले काखमा हुर्काएको छोराको ज्यान गएको पीडाले आफूलाई न्यायको खोजीमा संसद्सम्म ल्याएको बताइन् ।

‘मेरो काखमा हुर्केको बच्चाको ज्यान लिने शासकको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै म यहाँसम्म आइपुगेकी हुँ,’ उनले भनिन् ।

खतिवडाले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनतालाई दुःख दिने पुरानै प्रवृत्ति कायमै रहेको भन्दै सरकारलाई खबरदारी गर्न संसद्मा रहेका सबै सांसदको जिम्मेवारी भएको बताइन् । सरकार गलत बाटोमा गए संसद्को रोस्टमबाटै खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो छोराको मृत्युको विषयलाई लिएर आफूविरुद्ध गरिएका टिप्पणीप्रति उनले आपत्तिसमेत जनाइन् । ‘मेरो छोराको लासमाथि राजनीति गरेर पद साटेको भन्दै टिप्पणी गर्दा म स्तब्ध छु,’ उनले भनिन्, ‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस् ।’

खतिवडाले आफ्नो छोराको बलिदान खेर जान नदिन र आगामी दिनमा कुनै पनि आमाले सन्तान गुमाउनुपर्ने अवस्था आउन नदिन राज्य गम्भीर बन्नुपर्ने बताइन् ।

उनले सरकारसँग आफ्नो छोराको न्यायका लागि पहल गर्न आग्रह गर्दै नागरिकको ज्यान जाने अवस्थाको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिइन् ।