बागमतीमा भारी वर्षाको सम्भावना, सतर्क रहन मन्त्रालयको अपिल


काठमाडौँ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि आइतबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेको छ ।

प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहेको जनाएको छ । सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

मन्त्रालयले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो क्षेत्र र डुबान सम्भावित स्थानमा विशेष सतर्कता अपनाउन तथा अति आवश्यक नपरी लामो दूरी र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ ।

सम्भावित जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

प्रदेश सरकारले मातहतका निकाय, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई पूर्वतयारीसहित सतर्क अवस्थामा रहन तथा जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।