‘शहीदकी आमाको आँसुले पोल्नेछ’ भन्दै राजीव खत्रीको चेतावनी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो वा होइन भन्ने विषयमा सदनबाटै संकल्प प्रस्ताव पारित गर्न माग गरे।

उनले जेन्जी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको अनुभूति गर्न नसकेको बताए। सहिदकी आमाको आँसु र पीडाको सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

खत्रीले जेन्जी आन्दोलनलाई सचेत युवाको विद्रोह मान्ने हो भने दोषीलाई कानुनी कठघरामा उभ्याएर न्याय दिने संकल्प सदनबाटै गर्नुपर्ने बताए।

‘जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट संकल्प प्रस्ताव ल्याएर पास गरौँ,’ उनले भने, ‘दोषीलाई कठघरामा उभ्याएर जेन्जीलाई न्याय दिने संकल्प गरौँ।’

उनले सहिदका परिवारले न्याय पाउने अवस्था नआए त्यसले राज्यप्रति थप प्रश्न उठाउने बताए।