राष्ट्र बैंकको कारबाहीमा परे ६ लघुवित्त


काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा गरिएको सुपरिवेक्षणका आधारमा ती संस्थामाथि कारबाही गरेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेपछि शीघ्र सुधारात्मक कारबाही गरिएको छ। धौलागिरि लघुवित्तको पुँजीकोष अनुपात ६.३८ प्रतिशत र एनआइसी लघुवित्तको ६.३९ प्रतिशत रहेकाले दुवै संस्थामाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, मातृभूमि लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र रहेपछि उक्त संस्थामाथि समेत शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

राष्ट्र बैंकले वीन नेपाल लघुवित्तलाई २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटक ५८ रुपैयाँ ३८ पैसा नगद जरिवाना गरेको छ।

सञ्जीवनी लघुवित्तलाई भने २०८२ चैतदेखि २०८३ असारसम्म लगातार चार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकअनुसार जरिवाना गरिएको छ। उक्त संस्थालाई क्रमशः ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नियामकीय मापदण्ड पालना गर्न तथा वित्तीय अनुशासन कायम गर्न सम्बन्धित संस्थाहरूलाई निर्देशनसमेत दिएको छ।