मन्त्री लम्सालले संसदमा पेस गरे फोहोरमैला व्यवस्थापन विधेयक


काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस गरेका छन्।

आजकै बैठकमा विधेयक पेस गर्न अनुमति माग्दै प्रस्तुत गरिएको प्रस्ताव स्वीकृत भएपछि मन्त्री लम्सालले विधेयक सदनमा पेस गरेका हुन्।

विधेयक पेस गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन तथा स्वच्छ वातावरण निर्माणका लागि विधेयक महत्त्वपूर्ण हुने बताए। उनका अनुसार फोहोरमैलालाई व्यवस्थित गर्दै त्यसलाई स्रोत र साधनका रूपमा उपयोग गर्ने दिशामा विधेयकले आधार तयार गर्नेछ।

फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट पार्न विधेयक आवश्यक रहेको उनले बताए।

‘फोहोरमैलालाई अब फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने आजको आवश्यकता हो,’ मन्त्री लम्सालले भने, ‘यसका लागि तीनै तहका निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य छ।’

मन्त्री लम्सालले मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार फोहोरमैला प्रशोधन गरी पुनः स्रोतसाधनका रूपमा उपयोग गर्ने विधेयकको उद्देश्य रहेको बताए।

फोहोरमैला व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन सङ्घीय कानुन आवश्यक रहेको उल्लेख गर्दै उनले यही आवश्यकतालाई सम्बोधन गर्न विधेयक संसदमा ल्याइएको जानकारी दिए।

विधेयकले फोहोरमैला व्यवस्थापनमा देखिएका विद्यमान कानुनी तथा प्रशासनिक जटिलता हटाउँदै थप प्रभावकारी र व्यवस्थित व्यवस्थापनको मार्ग प्रशस्त गर्ने विश्वाससमेत मन्त्री लम्सालले व्यक्त गरे।