काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ सङ्घीय संसद्मा दर्ता भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन् ।
मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय शिक्षा, अध्ययन तथा अनुसन्धान विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
विधेयकअनुसार प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरीको राजविराज नगरपालिकामा रहनेछ । प्रतिष्ठान स्वशासित संस्था हुने र कानुनी व्यक्तित्व प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रतिष्ठानमा सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद्लगायत संरचना रहने तथा तिनका काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।
यसअघि नै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन गरी पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । अब विधेयकमार्फत प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।
प्रतिष्ठान सञ्चालनमा आएपछि मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्च शिक्षा तथा अनुसन्धानसँगै दक्ष जनशक्ति उत्पादन र सर्वसाधारणलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।



















प्रतिक्रिया