काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको चालु बजेट र राजस्व संकलनबीच ठूलो अन्तर रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले मुलुकको राष्ट्रिय बचतले मात्रै सरकारको खर्च आवश्यकता धान्न नसक्ने अवस्था रहेको बताए।
वाग्लेले गत आर्थिक वर्षमा करिब १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको तथ्यांक प्रस्तुत गर्दै चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको बताए। राजस्व र बजेटको आकारबीचको यही अन्तरका कारण स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको उनको भनाइ छ।
उनले भने, ‘हाम्रो राष्ट्रिय बचतले मात्रै धान्दैन। गत साल हाम्रो १२ सय ५० अर्ब जति राजस्व उठेको थियो। यो वर्ष हामीले २१ सय २४ अर्ब रुपैयाँ खर्च गर्ने भनेका छौँ। त्यसैले ठूलो खाडल छ। भएभरका स्रोतहरू हामीले परिचालन गर्नुपर्नेछ।’
अर्थमन्त्री वाग्लेले मुलुकको विकास आवश्यकता पूरा गर्न स्वदेशी बचत मात्र पर्याप्त नहुने भन्दै वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताए।
उनका अनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि लगानी आवश्यक छ। लगानीका मुख्य स्रोत आन्तरिक र बाह्य रहेको उल्लेख गर्दै उनले स्वदेशी पुँजीले मात्र नपुगे विदेशी पुँजी भित्र्याउनुपर्ने बताए।
‘आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि लगानी गर्नुपर्छ। मूलतः लगानी दुई वटा स्रोतबाट आउँछन्—आन्तरिक स्रोत र बाह्य स्रोत। आफ्नो देशभित्रको लगानीले नपुग्दा अरू देशको लगानीमा पनि हात हाल्नुपर्छ,’ उनले भने।
वाग्लेले विदेशी लगानीसँगै प्रविधि भित्र्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए। रोजगारीका अवसर सिर्जना गर्दै सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले आन्तरिक स्रोतको अधिकतम परिचालन गर्ने र बाह्य पुँजी तथा प्रविधि आकर्षित गर्ने नीति लिएको बताए।
उनले आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको समेत बताए।



















प्रतिक्रिया