काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरण सोमबार प्रतिनिधिसभा बैठकमा उठेको छ। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने यस विषयमा सदनमा कुनै धारणा राखेनन्।
सोमबारको आकस्मिक तथा शून्य समयमा बोल्ने कांग्रेस र रास्वपाका सांसदहरूले जबराको पक्राउ प्रकरणबारे चर्चा नगरेका हुन्।
शनिबार राति प्रहरीले ‘जेनजी पुस्ताबाट सुरक्षा जोखिम’ रहेको भन्दै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। तर, त्यसको भोलिपल्ट आइतबार दिउँसो नै उनलाई परिवारको जिम्मा लगाइएको थियो। पक्राउ र रिहाइको प्रक्रियालाई लिएर विभिन्न राजनीतिक दल तथा सरोकारवालाले प्रश्न उठाउँदै आएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङले मात्रै धारणा राखे। उनले मनाङमा लगातारको वर्षाका कारण भएको जनधनको क्षतिको विषय उठाए। शून्य समयमा भने कांग्रेसका कुनै पनि सांसदले जबरा पक्राउ प्रकरणबारे बोलेनन्।
त्यस्तै, सत्तारुढ रास्वपाका सांसदहरू आकस्मिक तथा शून्य समयमा बोले पनि उनीहरूले जबराको पक्राउबारे कुनै धारणा राखेनन्।
यता, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने जबरा पक्राउ प्रकरणलाई लिएर सरकारको आलोचना गरे।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई र राप्रपाका सांसद भरत गिरीले सदनमा जबराको पक्राउको विरोध गरेका हुन्।
उनीहरूले पूर्वप्रधानन्यायाधीशजस्तो पूर्वपदाधिकारीलाई पक्राउ गर्ने सरकारको शैलीमाथि प्रश्न उठाउँदै घटनालाई ‘राज्य आतंक’ तथा ‘केटाकेटी खेल’ जस्ता शब्द प्रयोग गरेर आलोचना गरेका थिए।
जबराको पक्राउका क्रममा प्रहरीले दिएको सुरक्षा जोखिमसम्बन्धी कारण र त्यसपछि छोटो समयमै भएको रिहाइलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला सोमबारको संसद् बैठकमा भने दलअनुसार फरक प्रतिक्रिया देखिएको छ।



















प्रतिक्रिया