काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान गर्दै नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार अर्थ समितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा रेग्मीले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वशर्तजस्तै रहेको बताए। सरकार र नेपाल धितोपत्र बोर्डले अघि सारेका कार्यक्रम तथा नीतिगत सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेप्सेको संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो।
उनले पुँजी बजारका ब्रोकर, मर्चेन्ट बैंकरलगायत व्यवसायीको स्तरीकरण तथा मानकीकरण गर्नुपर्नेमा जोड दिए। सुधार प्रक्रियामा सम्बन्धित व्यवसायीको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत हुने अनियन्त्रित सूचना प्रवाह र निःशुल्क परामर्शका नाममा फैलाइने गलत सूचनाले बजारलाई प्रभावित गरिरहेको बताए।
रेग्मीले बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासनलाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको सङ्ख्या र भूमिका बढाउनुपर्ने बताए। संस्थागत लगानीकर्तालाई बजारको महत्वपूर्ण चालकका रूपमा विकास गर्दै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
संस्थागत लगानीकर्ताको सहभागिता बढाउन करसम्बन्धी व्यवस्था सुधार गर्नुपर्नेमा समेत उनले जोड दिए। व्यक्तिगत र संस्थागत लगानीकर्ताबीच करको दरमा रहेको भिन्नताले संस्थागत लगानीलाई निरुत्साहित गरेको भन्दै संस्थागत लगानीकर्तामाथिको करको भार घटाउनुपर्ने उनले बताए।
संस्थागत लगानीकर्ताको सहभागिता कमजोर हुँदा पुँजी बजारमा व्यक्तिगत लगानीकर्ताको मात्र प्रभाव बढ्ने र त्यसले बजारमा अस्थिरता निम्त्याउन सक्ने उनको भनाइ थियो। साथै नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना गर्दा कारोबारका लागि उपलब्ध फ्लोट सेयरलाई आधार बनाउनुपर्ने उनले बताए।
पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधारसँगै संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, ब्रोकर तथा मर्चेन्ट बैंकरको मानकीकरण र सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिनुपर्ने रेग्मीले बताए।






















प्रतिक्रिया