प्राविधिक सांसदलाई प्रधानमन्त्रीको आग्रह– आफ्नो विज्ञता देश विकासमा लगाउनुस्


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभव मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले प्राविधिक विषयमा जानकार सांसदहरू नीति निर्माण गर्ने स्थानमा रहेकाले आफ्नो दक्षतालाई देश विकासमा अधिकतम उपयोग गर्नुपर्ने बताए।

‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ उनले भने।

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन सुझाव दिए।

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

छलफलमा प्रधानमन्त्री शाहले प्राविधिक ज्ञान र अनुभव भएका सांसदहरूको विज्ञतालाई दीर्घकालीन नीति निर्माण तथा विकासका काममा उपयोग गर्ने विषयमा जोड दिएका थिए।