काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ।
भेटमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृङ्खलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गरे।
उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउन तथा निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न नेपाल र चीनबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
रसुवागढी र कोरला नाकामा समेत अवरोध देखिएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नै नेपाल–चीन व्यापार तथा आपूर्ति शृङ्खलामा थप दबाब परेको श्रेष्ठले बताए। रसुवागढी–केरुङ नाकामा बाढीबाट क्षति पुगेपछि त्यसको व्यापारिक चाप कम गर्न तातोपानी नाका यथाशीघ्र सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको महासंघले जनाएको छ।
जवाफमा राजदूत झाङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन दुवै देशका अधिकारीबीच संयुक्त स्थलगत निरीक्षण भइरहेको जानकारी दिए।
सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनःस्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको र जनजीवन तथा आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको उनले बताए।
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) तथा काठमाडौँलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको छ।
रसुवागढी नाकामा भएको क्षतिपछि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन सके नेपाल–चीन व्यापार तथा आपूर्ति व्यवस्थामा परेको दबाब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया