काठमाडौं – स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुन दर्ता खुला गरिएको छ।
आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा आयोजना हुँदैछ। पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
सहभागीले https://pinkwalk.github.io/register मा गई पृष्ठमा उपलब्ध QR कोड स्क्यान गरेर आवश्यक विवरण भरी दर्ता गर्न सक्नेछन्। त्यसैगरी, ईसेवा एपको Voting & Events मा गएर Pink Walk छनोट गरी पनि दर्ता गर्न सकिनेछ।
पिंकवाकमार्फत स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको महत्त्वबारे जनचेतना फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्य राखिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा पिंकवाक २०२६ आयोजना गर्न लागेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ।
आयोजकले स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउँदै पिंकवाक २०२६ मा सहभागी हुन सबैलाई आग्रह गरेको छ।























प्रतिक्रिया