आफ्नै खेत बग्दा भन्दा वडाको भवन ढल्दा बढी दुःख लाग्यो : वडाध्यक्ष


गण्डकी । आफ्नै पहलमा निर्माण भएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापा भावुक बनेका छन्।

बुधबार साँझ क्षतिग्रस्त भवननजिक भेटिएका थापा भवनको भग्नावशेषतर्फ हेर्दै चिन्तित देखिन्थे। आफ्नै १० मुरी धान फल्ने खेतसमेत बाढीले बगर बनाएको भए पनि व्यक्तिगत क्षतिभन्दा वडाको भवन ढलेकोमा बढी दुःख लागेको उनले बताए।

‘मलाई मेरो १० मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ। तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ,’ उनले भने।

थापाका अनुसार विसं २०७४ को स्थानीय तह निर्वाचनपछि उनको पहल तथा स्थानीयवासीको सहयोगमा नगरपालिकाको ८० लाख रुपैयाँ बजेटबाट वडा कार्यालय भवन निर्माण गरिएको थियो। तीन रोपनी जग्गा खरिद गरी बनाइएको भवनलाई पछि थप स्रोतसाधन जुटाएर सुविधायुक्त बनाइएको थियो।

दरमखोलाको कटान बढ्दै गएपछि वडा कार्यालयका अभिलेख तथा केही महत्वपूर्ण उपकरण भने समयमै सुरक्षित स्थानमा सारिएको थियो। तर भवनसँगै करिब १५ लाख रुपैयाँमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीमा समेत क्षति पुगेको छ।

‘अहिले पनि म राम्रोसँग निदाउन सकेको छैन। अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु। मेरो मन–आत्मा त्यहीँ भवनमा छ,’ थापाले भने।

आइतबार साँझ करिब ४ बजेतिर दरमखोलाको बहावले जमिन कटान गर्दै लगेपछि वडा कार्यालय भवन जगैदेखि ढलेको स्थानीयले बताएका छन्। भवनको माथिल्लो संरचनामा ठूलो क्षति नदेखिए पनि जगसहित भवन खोलातर्फ ढलेको स्थानीय हुमलाल ढकालले बताए।

बाढीका कारण वडा कार्यालयनजिकै रहेको ढकालको घरसमेत जोखिममा परेको छ। ‘पानी पर्‍यो भने घर छाडेर हिँड्नुपर्ने अवस्था छ। बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ,’ उनले भने।

बाढीले गलकोट–९ का केही घरगोठसँगै ठूलो क्षेत्रफलको धानखेतमा क्षति पुर्‍याएको छ। बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धान बाढीले बगाएपछि किसानहरू मर्कामा परेका छन्।

गलकोट नगरपालिकाले बाढीपहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार नगर क्षेत्रभित्र बाढीपहिरोबाट २२ घरगोठमा क्षति पुगेको छ। रिसोर्टलगायत व्यावसायिक संरचनामा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख भरत शर्मा गैरेले गलकोटमा मानवीय क्षति नभए पनि सरकारी तथा निजी गरी करोडौँ रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको बताए। ‘बाढीका कारण गलकोटमा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ। तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौँ,’ उनले भने।

बाढीपहिरोका घटनाबाट गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित भएका छन्। जिल्लामा पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति भएको जनाइएको छ।