काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सार्वजनिक सेवा प्रवाहमा सुधार देखिएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पराजुलीले सुशासनको जग बलियो बनाउँदै समृद्धिको लक्ष्य हासिल गर्न सरकार र रास्वपाले निरन्तर प्रयास गरिरहेको बताए।
उनले सरुवा–बढुवामा डिजिटल प्रणालीको प्रयोग, राहदानी तथा सवारी चालक अनुमतिपत्र घरमै पुर्याउने सेवा, भूमि प्रशासनको विस्तार र भूमिहीन परिवारलाई लालपुर्जा वितरणजस्ता कामलाई सुशासन सुधारका प्रयासका रूपमा उल्लेख गरे।
बिचौलिया र घुसखोरी अन्त्य गर्दै नागरिकले बिना भनसुन र बिना घुस समयमै सरकारी सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधारलाई निरन्तरता दिनुपर्ने उनले बताए।
पराजुलीले विपद्का समयमा जोखिममा रहेका नागरिकको जीवन रक्षा, प्रभावित परिवारलाई समयमै राहत तथा सहायता उपलब्ध गराउने र अवरुद्ध जनजीवनलाई शीघ्र सामान्य अवस्थामा फर्काउने विषयमा सरकार थप स्पष्ट र प्रभावकारी हुनुपर्ने बताए।
विपद्को समयमा सरकार र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर सबै राजनीतिक दल तथा पक्षले सहकार्य र रचनात्मक योगदान गर्नुपर्ने उनको धारणा छ। प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राखेर राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने उनले बताए।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायको विषयलाई प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, संरक्षण र वातावरणीय सुधारसँग जोड्नुपर्नेमा समेत उनले जोड दिए। हिमालय संरक्षणलाई नेपालको मात्र विषय नभई अन्तर्राष्ट्रिय साझा जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर पहल गर्नुपर्ने उनको भनाइ छ।






















प्रतिक्रिया