विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानबारे आयोगको छलफल


काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था गर्ने विषयमा राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

आयोगले यस विषयमा निचोडमा पुग्ने उद्देश्यले आज शुक्रबार आफ्नो केन्द्रीय कार्यालयमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल आयोजना गरेको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा बढी राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको छ। छलफलमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था तथा अन्तरजिल्लाबाट मतदान गर्न सकिने विषयमा दलहरूको धारणा लिइनेछ।

त्यसैगरी, निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगका विषयमा समेत आयोग र राजनीतिक दलबीच छलफल हुनेछ। सूचना अधिकारी घिमिरेका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्थाअनुसार छलफल आयोजना गरिएको हो।

विदेशमा रहेका नेपाली तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आए पनि आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रबन्ध हुन नसक्दा कार्यान्वयनमा आउन सकेको छैन।

आयोगले आवश्यक कानुनी व्यवस्था गर्न एकीकृत कानुनको मस्यौदा तयार गरी गृह मन्त्रालयमा पठाएको लामो समय भए पनि त्यसबारे थप प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ।

आजको छलफलबाट राजनीतिक दलहरूको धारणा संकलन गरी विदेशमा रहेका नेपाली र अन्तरजिल्लाबाट मतदानको व्यवस्था अघि बढाउने विषयमा आयोगले आवश्यक निष्कर्ष निकाल्ने तयारी गरेको छ।