सरकारमाथि श्रम संस्कृति पार्टीको आरोप, ‘विपक्षीको आवाज सुनुवाइ भएन’


काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पार्टीका सांसद ध्रुव राईले प्रतिपक्षी दलले उठाएका जनसरोकारका विषय र प्रश्नप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

सांसद राईले प्रतिपक्षी दलहरूले जनताका समस्या र सरोकारका विषय संसद्मा निरन्तर उठाए पनि सरकारले त्यसको जवाफ दिन र सम्बोधन गर्न चासो नदेखाएको गुनासो गरे । उनले संसद्को अधिवेशन नै कर्मकाण्डी जस्तो भएको टिप्पणी गरे ।

‘हामीले जनताका धेरै प्रश्नहरू उठाएका थियौँ, तर ती प्रश्नहरूको जवाफ पाउन सकिएन । यो अधिवेशन पनि कर्मकाण्डी जस्तै भयो,’ उनले भने ।

राईले सरकार प्रमुखले प्रतिपक्षी दलका माग र आवाजलाई सम्मान गर्न नसकेको आरोप लगाए । राजनीतिक दलहरूले जनताको विश्वासबाट प्राप्त जिम्मेवारीअनुसार काम गर्नुपर्ने भए पनि अहिले जनताको चाहनाविपरीत गतिविधि भइरहेको उनको टिप्पणी थियो ।

‘सरकार प्रमुखले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुको साटो प्रतिपक्षी दलहरूको जित र आवाजलाई सम्मान गर्न सकेनन्,’ उनले भने, ‘सरकारले विपक्षीको आवाजलाई सुन्नसमेत चाहेन ।’

सांसद राईले संसद्मा आफूहरूले प्रभावकारी रूपमा आवाज उठाउन नसके पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या उठाउने बताए । उनले जनताको समस्या समाधानका लागि प्रतिपक्षमा रहेर निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए ।

उनले विगतका आन्दोलनका उपलब्धिलाई ओझेलमा पार्ने प्रयास नगर्न सरकारलाई चेतावनीसमेत दिए । ‘यदि सरकारले दम्भ देखाउने र प्रतिपक्षलाई पेलेरै लैजाने प्रयत्न गरे, त्यसको मूल्य सरकारले नै चुकाउनुपर्नेछ,’ उनले भने ।

राईले संसद्को अधिवेशनमा उठाइएका मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै अन्य सांसदलाई समेत जनपक्षीय मुद्दामा एकजुट हुन आह्वान गरे ।