‘दशैँ पशुका लागि दशा नबनोस्’ : आशिका तामाङ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँका नाममा हुने पशुबलिप्रति आपत्ति जनाउँदै पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानिसका लागि दशैँ उत्सव भए पनि निर्दोष पशुका लागि भने दशैँ ‘दशा’ बन्ने गरेको बताइन्। दशैँमा खसी, बोका र राँगाको बलि दिने क्रममा हुने क्रूरताप्रति उनले असन्तुष्टि जनाइन्।

‘दशैँ आउन अब जम्मा १० दिनजति बाँकी छ। हामीलाई दशैँ उत्सव हुन सक्छ तर निर्दोष जनावरका लागि भने दशैँ दशा नै हो,’ उनले भनिन्।

सांसद तामाङले पशुलाई लखेटेर, भीडमा तरबारले घोचेर वा लौरीले हानेर गरिने व्यवहारले पशुप्रति हुने क्रूरता देखाउने बताइन्। दशैँका बेला हजारौँ–लाखौँ निर्दोष पशुको सार्वजनिक रूपमा बलि दिइने गरेको उल्लेख गर्दै उनले यस्तो विषयमा राज्यले प्रभावकारी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखिन्।

विदेशमा पशुप्रति गरिएको क्रूरताको आधारमा सजाय हुने कानुनी व्यवस्था आफूले देखेको उल्लेख गर्दै तामाङले नेपालमा पशु कल्याणका लागि बनेका कानुन र नीति कमजोर रहेको प्रश्न उठाइन्।

उनले पशुबाट उत्पादन र सेवा लिने तर पशुको वास्तविक संरक्षण तथा कल्याणमा पर्याप्त ध्यान नदिने नीति पुनरावलोकन गर्नुपर्ने बताइन्। पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउँदै पशुमाथि हुने क्रूरता नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिइन्।