काठमाडौँ । वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयले इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार सीईओ पदका लागि नेपाली नागरिक वा नेपालमा स्थायी आवासीय अनुमति प्राप्त विदेशी नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
त्यस्तै, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ तथा वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र तथा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ।
उम्मेदवारले कोषसँग सम्बन्धित कार्यका लागि उच्च नैतिक चरित्र कायम गरेको र सम्बन्धित कार्यविधिअनुसार अयोग्य नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।
आवेदनसँगै उम्मेदवारले व्यक्तिगत विवरण, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, कार्य विवरण तथा अन्य आवश्यक कागजात पेस गर्नुपर्नेछ। साथै, उम्मेदवारले व्यावसायिक रणनीति तथा कार्ययोजना पनि बुझाउनुपर्नेछ।
कार्ययोजनामा नेपालमा लगानी तथा पूर्वाधारमा लगानीको वर्तमान अवस्था, वैकल्पिक विकास वित्तको अवधारणा र अन्तर्राष्ट्रिय परिदृश्य, कोष सञ्चालनको अवस्था, सबल पक्ष तथा चुनौती, व्यवस्थापनसम्बन्धी धारणा र रणनीतिक दिशा समेट्नुपर्नेछ।
त्यस्तै, चार वर्षको व्यावसायिक कार्ययोजना, संस्थागत सुशासन तथा संगठनात्मक क्षमता विकास र कार्ययोजना कार्यान्वयनका चरण तथा सम्भावित समस्या समाधानका उपायसमेत कार्ययोजनामा प्रस्तुत गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।






















प्रतिक्रिया