विद्यार्थी भिसामा अस्ट्रेलियाको नयाँ व्यवस्था लागू, आजदेखि कडाइ


मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ। नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो। यसले अस्ट्रेलियामा अध्ययनरत तथा त्यहाँ अध्ययनका लागि जाने तयारीमा रहेका विदेशी विद्यार्थीको भिसा प्रक्रियामा प्रभाव पार्नेछ।

अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार नयाँ व्यवस्थाले विशेषगरी अस्ट्रेलियाभित्रै बसेर अर्को विद्यार्थी भिसा आवेदन गर्न खोज्नेहरूलाई प्रभावित गर्नेछ। अधिकांश प्रभावित अस्थायी भिसा धारकले अब विद्यार्थी वा विद्यार्थी अभिभावक भिसाका लागि आवेदन दिँदा अस्ट्रेलियाबाहिर हुनुपर्नेछ। त्यस्ता आवेदक भिसा स्वीकृत हुँदा पनि अस्ट्रेलियाबाहिरै हुनुपर्ने व्यवस्था गरिएको छ।

हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले अर्को विद्यार्थी भिसा लिन अस्ट्रेलियाभित्रैबाट आवेदन गर्न पाउने अवस्था पनि सीमित गरिएको छ। यद्यपि निश्चित अवस्थाका विद्यार्थीलाई भने छुट दिइएको छ। उदाहरणका लागि, आफ्नो मूल पाठ्यक्रम पूरा गर्न थप १२ महिनासम्मको समय आवश्यक पर्ने र सोही शैक्षिक संस्थामा अध्ययन जारी राख्ने विद्यार्थीले अस्ट्रेलियाबाटै आवेदन दिन सक्नेछन्।

त्यस्तै, पीएचडी अध्ययनका लागि आवेदन गर्ने, प्राथमिक वा माध्यमिक तहको अध्ययनमा जाने, अस्ट्रेलियाको विदेश मामिला तथा रक्षा निकायबाट प्रायोजित विद्यार्थी तथा शैक्षिक संस्था बन्द भएका कारण आफ्नो अध्ययन जारी राख्न नसक्ने विद्यार्थीका लागि पनि केही छुटको व्यवस्था गरिएको छ। उच्च तहको अध्ययनतर्फ अघि बढ्ने निश्चित विद्यार्थीले समेत सीमित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्।

नयाँ नियमअनुसार आफू अस्ट्रेलियाभित्रैबाट आवेदन दिन योग्य नभएको अवस्थामा त्यहीँ बसेर विद्यार्थी भिसाको आवेदन गरेमा आवेदन अमान्य हुन सक्ने गृह मामिला विभागले स्पष्ट पारेको छ। यस्तो अवस्थामा आवेदकले अस्ट्रेलिया छाडेर बाहिरबाट आवेदन दिनुपर्नेछ। बाहिरबाट आवेदन गरेपछि भिसा स्वीकृत हुँदा पनि आवेदक अस्ट्रेलियाबाहिरै हुनुपर्नेछ।

परिवार लैजाने व्यवस्थामा पनि परिवर्तन

नयाँ नियमले विद्यार्थी भिसामा परिवारका सदस्यलाई समावेश गर्ने विषयमा समेत थप सीमितता ल्याएको छ। सामान्यतया विद्यार्थी भिसा आवेदनमा पति/पत्नी वा आश्रित बालबालिकालाई समावेश गर्न नपाइने व्यवस्था गरिएको छ। पीएचडी विद्यार्थी, अस्ट्रेलियाको विदेश मामिला तथा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, केही सरकारी छात्रवृत्ति प्राप्त विद्यार्थी तथा तोकिएका केही देशका विद्यार्थीलाई भने सीमित छुट दिइएको छ।

हालको विद्यार्थी भिसा स्वीकृत भइसकेपछि पछि परिवारका सदस्य थप गर्ने व्यवस्था पनि सामान्यतया बन्द गरिएको छ। गृह मामिला विभागले निश्चित छुटबाहेक विद्यार्थी भिसा स्वीकृत भएपछि परिवारका सदस्यलाई पछि थप गर्न नसकिने स्पष्ट पारेको छ।

पुराना आवेदनमा नयाँ नियम लागू नहुने

अक्टोबर २ अघि अर्थात् नयाँ व्यवस्था लागू हुनुअघि दर्ता भएका विद्यार्थी भिसा आवेदन भने आवेदन दर्ता हुँदाको नियमअनुसार नै मूल्याङ्कन हुनेछन्। त्यसैले नयाँ नियमले पहिले नै दर्ता भइसकेका सबै आवेदनलाई पछाडिबाट प्रभावित नगर्ने विभागले जनाएको छ।

अस्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसा प्रणालीलाई थप व्यवस्थित गर्ने तथा आवेदनको गुणस्तर र प्रक्रिया नियन्त्रण गर्ने उद्देश्यले विभिन्न नीतिगत परिवर्तन गर्दै आएको छ। नयाँ व्यवस्थाले विशेषगरी अस्ट्रेलियामै बसेर एकपछि अर्को विद्यार्थी भिसा आवेदन गर्ने तथा परिवारलाई पछि बोलाउने प्रक्रियामा थप सीमितता ल्याएको छ।

नेपाली विद्यार्थीका लागि पनि नयाँ नियम महत्वपूर्ण हुने भएकाले अस्ट्रेलिया अध्ययनमा रहेका वा जाने तयारीमा रहेका विद्यार्थीले आफ्नो हालको भिसा, अध्ययनको तह, पाठ्यक्रम पूरा हुन बाँकी अवधि र प्रस्तावित नयाँ पाठ्यक्रमका आधारमा आफू अनसोर आवेदनका लागि योग्य भए/नभएको यकिन गर्नुपर्ने हुन्छ। गृह मामिला विभागले समेत भिसा, अध्ययन वा यात्रा सम्बन्धी योजना बनाउनुअघि नयाँ नियम र आफ्नो छुटको अवस्था जाँच गर्न आग्रह गरेको छ।