कांग्रेसले अब चुनावअघि गठबन्धन नगर्ने, ‘रुख’ चिह्नमै चुनाव लड्ने


काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावअघि अन्य राजनीतिक दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ। काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा कांग्रेसले आफ्नै चुनाव चिह्न ‘रुख’, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रमसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएको हो।

प्रस्तावमा विगतका निर्वाचनमा गरिएको चुनावी गठबन्धनले पार्टीको पहिचान र जनसम्बन्ध कमजोर बनाएको निष्कर्ष प्रस्तुत गरिएको छ। त्यसैले आगामी निर्वाचनमा कुनै दलसँग पूर्वनिर्वाचन गठबन्धन नगरी आफ्नै संगठन र कार्यक्रमका आधारमा चुनाव लड्ने नीति प्रस्ताव गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौं।’
कांग्रेसले राष्ट्रिय मुद्दामा भने अन्य राजनीतिक दलसँग आवश्यक सहकार्य गर्न सकिने जनाएको छ। संविधानको रक्षा, विपद्, राष्ट्रिय सुरक्षा, न्याय तथा सार्वजनिक हितका विषयमा सहकार्य गर्न सकिने तर त्यसलाई सत्ता वा पदको भागबन्डासँग जोड्न नहुने प्रस्तावमा उल्लेख छ।

त्यस्तै, निर्वाचन प्रणाली सुधारअन्तर्गत ‘नो भोट’ अर्थात् कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्पबारे सार्वजनिक बहस अघि बढाउने प्रस्ताव कांग्रेसले गरेको छ। विदेशमा रहेका तथा स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई मतदानको पहुँच सुनिश्चित गर्ने विषयलाई पनि प्रस्तावमा समेटिएको छ।

निर्वाचनलाई स्वच्छ र कम खर्चिलो बनाउने तथा घुम्ती आरक्षित निर्वाचन क्षेत्र र प्रतिनिधित्व प्रणाली सुधारका विषयमा समेत सार्वजनिक बहस अघि बढाउने कांग्रेसको प्रस्ताव छ।