काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायबाट अनधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन्।
पदीय हैसियतको दुरुपयोग गर्दै अनधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उनले बताएका छन्। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उनको भनाइ छ।
गुरुङले भनेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।’
गृह मन्त्रालयले सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीरााज दाहाललाई पदबाट निलम्बन गरेको घटनाको सन्दर्भमा गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार मन्त्रालयमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक तथा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यस्ता सूचनाको संवेदनशीलतालाई बेवास्ता गर्न नसकिने उनले बताएका छन्।
राज्यले सुम्पिएको गोपनीयतामाथि खेलबाड गर्नु देश र संगठनमाथिको ‘विश्वासघात’ भएको उल्लेख गर्दै गुरुङले जानाजान यस्तो गर्ने जोसुकै भए पनि उन्मुक्ति नदिइने बताएका छन्।
उनले गोप्य तथा संवेदनशील सूचना चुहावटमा संलग्नलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन्।






















प्रतिक्रिया