अस्थायी आवास र बेलीब्रिज तत्काल बनाउन सांसदहरूको दबाब


काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षति र जलवायु परिवर्तनको प्रभावबारे छलफल गर्न बसेको संसदीय विशेष समितिको बैठकमा सांसदहरूले तत्काल राहत, पुनर्निर्माण र पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार सिंहदरबारमा बसेको ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी समितिको बैठकमा सांसदहरूले विपद् प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन तत्काल बेलीब्रिज निर्माण गर्न तथा चाडपर्वअघि नै अस्थायी आवासको व्यवस्था गर्न माग गरेका हुन्।

रास्वपा सांसद अच्युतम लामिछानेले नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा कम्तीमा तीन स्थानमा सवारीसाधन सञ्चालन गर्न मिल्ने बेलीब्रिज वा पक्की पुल निर्माण गर्न माग गरे। बाढीका कारण नदी वारपार गर्न विद्यार्थी तथा स्थानीयवासीले सास्ती खेपिरहेको भन्दै उनले पुल निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

उनले बाढीबाट क्षतिग्रस्त सिँचाइ कुलो र खानेपानीका स्रोत तत्काल मर्मत गर्न तथा राहत वितरणमा देखिएका जटिलता हटाउन कानुनी र प्रक्रियागत सुधार आवश्यक रहेको बताए। एउटै घरमा बस्दै आएका विवाहित दाजुभाइलाई छुट्टाछुट्टै परिवारका रूपमा राहतको लाभग्राही मान्ने व्यवस्था गर्नुपर्ने र विपद्मा सवारीसाधन गुमाएका व्यवसायीलाई कर छुट तथा सहुलियतपूर्ण ऋण दिनुपर्ने उनको माग थियो।

रास्वपा सांसद अनुष्का श्रेष्ठले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। बाढी तथा अन्य विपद्का सूचना जनताले सहज रूपमा बुझ्ने भाषामा प्रवाह गर्नुपर्ने भन्दै उनले भविष्यका ठूला विपद् सामना गर्न विपद् व्यवस्थापन प्राधिकरणको संरचना र क्षमता पर्याप्त छ कि छैन भन्नेबारे पुनरावलोकन गर्नुपर्ने बताइन्।

एमाले सांसद गंगादेवी श्रेष्ठले दशैँअघि नै विपद् प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गरी सुरक्षित र न्यानो बस्ने वातावरण बनाउन सरकारसँग माग गरिन्। धादिङलगायतका जिल्लामा अभिभावक गुमाएका बालबालिकाको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने बताइन्।

रास्वपा सांसद सुजाता तामाङले पुनःस्थापना र पुनर्निर्माणका कामलाई जलवायु उत्थानशील र प्रकृतिसँग सहअस्तित्वमा आधारित बनाउनुपर्ने बताइन्। वन, कृषि, वातावरण र स्थानीय जीविकोपार्जनलाई एकीकृत गर्दै प्रभावित समुदायको आवश्यकता र क्षमताअनुसार राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले भोटेकोशी र त्रिशूली क्षेत्रमा तत्काल आवतजावतको व्यवस्था मिलाउन तथा हाकुबेँसी र स्याफ्रु क्षेत्रमा बेलीब्रिज निर्माण गर्न माग गरे। मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्बोधन गर्नुपर्ने र बेपत्ताको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्नेमा पनि उनले जोड दिए।

बैठकमा सांसदहरूले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुधार, सुरक्षित पूर्वाधार निर्माण र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक नीतिगत सुधारमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्।