काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न प्रयोजनका लागि विदेशी भुक्तानी तथा सटहीको सीमा बढाएको छ।
नयाँ व्यवस्थाअनुसार विदेशमा उपचार गराउने नेपाली नागरिकले औषधोपचार, औषधि तथा उपचारजन्य उपकरण खरिदका लागि वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन्। यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र थियो।
त्यस्तै, नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनीले विदेशी कम्पनीसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिएबापत वार्षिक ५ लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने भएका छन्। यसअघि यस्तो भुक्तानीको सीमा १ लाख डलर थियो।
नियामक निकायबाट सम्झौता स्वीकृत वा सटही सिफारिस प्राप्त भएका अवस्थामा आवश्यक कागजातसहित प्रतिपटक ३० हजार अमेरिकी डलर वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकबाटै सटही सुविधा लिन सकिने भएको छ। यसअघि प्रतिपटकको सीमा १५ हजार डलर थियो।
३० हजार डलरभन्दा बढी भुक्तानी गर्नुपर्ने अवस्थामा भने सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति लिनुपर्नेछ। त्यस्तै, ३० हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्था गरिएको छ। यसअघि १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीमा यस्तो ग्यारेन्टी चाहिन्थ्यो।
भारतस्थित संस्थाबाट सेवा लिने नेपालमा दर्ता भएका नेपाली तथा विदेशी कम्पनीका लागि पनि भुक्तानी सीमा बढाइएको छ। अब सम्बन्धित नियामक निकायको सिफारिसका आधारमा प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्मको भुक्तानी वाणिज्य बैंकबाटै गर्न सकिनेछ। यसअघि यस्तो सीमा ४० लाख भारु थियो।
राष्ट्र बैंकले कार्ड कारोबारमा समेत सहजीकरण गरेको छ। अब कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर आर्जन गरेको विदेशी मुद्रा कार्डमा जम्मा गर्न सक्नेछन्। कार्डमा मौज्दात १० हजार अमेरिकी डलरभन्दा बढी भएमा बढी रकम स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा ५ हजार डलर थियो।
त्यस्तै, नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा आयातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा ५ लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी बैंकमार्फत गर्न सक्ने भएका छन्। यस प्रयोजनमा विदेशी बैंकको ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।






















प्रतिक्रिया