काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नयाँ पुस्ताको जोस–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गर्दै पार्टीलाई थप सशक्त र गतिशील बनाउनुपर्ने बताएका छन्।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले कांग्रेसलाई आगामी दिनका चुनौती सामना गर्न सक्ने बलियो पार्टीका रूपमा अघि बढाउन पुस्ताबीचको सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले नयाँ पुस्तामा रहेको ऊर्जा र पुरानो पुस्तासँग रहेको राजनीतिक अनुभवलाई उचित ढंगले संयोजन गर्न सके कांग्रेसलाई नयाँ गति दिन सकिने बताए। पार्टीभित्र सबै पुस्ता र पक्षलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।
कांग्रेसको अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका पाण्डेले पार्टीलाई सशक्त बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोस–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ।’
पाण्डेले आफूले लामो समयदेखि नेपाली कांग्रेस र यसका भ्रातृ संगठनमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै पार्टी निर्माणमा आफ्नो अनुभव र एजेन्डालाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि मात्र नभई पार्टीलाई थप व्यवस्थित, एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित आएको दाबी गरे। पार्टीको नेतृत्व र संगठनलाई बलियो बनाउन नयाँ पुस्ताको सक्रियता तथा अनुभवी नेताहरूको मार्गदर्शन दुवै आवश्यक रहेको उनले बताए।
पाण्डेले आफ्नो उम्मेदवारी र एजेन्डालाई सहयोग गर्न कांग्रेसका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूलाई आग्रहसमेत गरे।




















प्रतिक्रिया