काठमाडौँ । दसैँलगायतका चाडपर्व नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला तथा सफा नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। यसपटक नयाँ नोट वितरणलाई प्राथमिकता नदिए पनि रु १०० का नोट एटीएम मेसिनबाटै उपलब्ध गराउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत रु १०० का नोट वितरण गर्न थालेका छन्। यसबाट दसैँका लागि साना दरका नोट आवश्यक पर्ने सर्वसाधारणलाई बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले यसपटक भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले नयाँ नोट वितरणलाई अनावश्यक रूपमा प्रचार नगर्ने नीति लिइएको बताए। उनका अनुसार चाडपर्वका लागि राष्ट्र बैंक तथा वाणिज्य बैंकमार्फत सुकिला र सफा नोट उपलब्ध हुने व्यवस्था भने गरिएको छ।
उनले नोट सटही तथा सफा नोट उपलब्ध गराउने काम राष्ट्र बैंकको नियमित प्रक्रियाअन्तर्गत पर्ने भएकाले यसपटक छुट्टै प्रचारात्मक सूचना जारी नगरिएको स्पष्ट पारे।
“पैसा सटही गर्ने काम दैनिक रूपमा गर्नुपर्ने नियमित काम हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” पौडेलले भने, “चाडपर्वको मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले दसैँ मनाउन नयाँ नोट वितरण गर्ने विषयमा छुट्टै सूचना जारी गर्नु पनि उपयुक्त देखिएन।”
राष्ट्र बैंकका अनुसार असोज १ गतेदेखि थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकमार्फत सर्वसाधारणलाई सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ। यससँगै नयाँ प्रविधियुक्त एटीएमबाट रु १०० का नोट वितरण गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको हो।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्वका अवसरमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ। नयाँ नोटकै प्रयोग गर्नुपर्नेभन्दा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिने नीति राष्ट्र बैंकले लिएको हो।
प्रवक्ता पौडेलका अनुसार गत भदौ ३१ गतेसम्म नेपालमा रु ७ खर्ब ९४ अर्ब बराबरको करेन्सी इन सर्कुलेसन रहेको छ। दसैँका बेला नगद कारोबार बढ्ने भएकाले त्यसमा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ।
यसपटक भने विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले नयाँ नोट वितरणलाई उत्सवका रूपमा प्रचार नगरी नियमित प्रक्रियामार्फत सर्वसाधारणलाई आवश्यक पर्ने सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरेको हो।




















प्रतिक्रिया