काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर अलग्गै प्रक्रियामा अघि बढेको इतर समूहले दशैँअघि नै सबै क्षेत्रको अधिवेशन सम्पन्न गर्ने दाबी गरेको छ।
समूहका नेता किरणराज पौडेलका अनुसार हालसम्म करिब ८० प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको छ। अहिले पालिका अधिवेशनहरू सञ्चालन भइरहेका छन् भने दशैँअघि सबै प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
पौडेलले भने, ‘हालसम्म वडाहरूको ८० प्रतिशत अधिवेशन सकेर पालिकाहरूको भइरहेको छ। दशैँअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ।’
इतर समूहले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म गर्ने भनिएको छ।
अर्का नेता गुरुराज बरालका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत परिचालन भएका छन्। तोकिएको कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गरी पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउने उनले बताए।
बरालले संस्थापन समूहले गरिरहेको महाधिवेशन प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्। उनले संस्थापन समूहको महाधिवेशनलाई ‘क्लब’को संज्ञा दिँदै भविष्यमा उक्त समूह सानो आकारमा सीमित हुने दाबी गरे।
उनले विशेष महाधिवेशनका अगुवाहरूले आफू पराजित हुने डरले विभिन्न पद थपेर आफूलाई सुरक्षित गर्न खोजेको आरोपसमेत लगाए। यस्तो कार्य लोकतान्त्रिक चरित्रअनुकूल नभएको उनको भनाइ छ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा कांग्रेसका दुवै समूहले आ–आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाइरहेका छन्।




















प्रतिक्रिया