पोखरा । पोखराबाट म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिरोका कारण अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रामा निर्भरता बढ्दा यात्रुको चाप थेग्नसमेत कठिन भइरहेको छ। हाल तारा र समिट एयरका ट्विनअटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन्।
उनका अनुसार दुवै एयरलाइन्सले यसअघि दैनिक पाँच–पाँच उडान गर्दै आएकोमा यात्रुको चाप बढेपछि दैनिक सात–सात वटासम्म उडान गरिरहेका छन्। मुख्य पर्यटकीय यामसमेत भएकाले हवाई मार्ग हुँदै मुस्ताङ जाने पर्यटकको संख्या पनि बढेको उनले बताए।
सोह्रश्राद्धका समयमा मुक्तिनाथ दर्शन तथा कागबेनीमा पितृतर्पणका लागि नेपाल र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री मुस्ताङ पुग्ने गर्छन्। एयरलाइन्सले बिरामी तथा अशक्त यात्रुलाई प्राथमिकता दिइरहेका छन् भने विदेशी पर्यटकसहित अन्य यात्रुको सहजताका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयले सहजीकरण गरिरहेको जनाएको छ।
विमानस्थल प्रमुख शर्माका अनुसार सडकमार्ग सञ्चालनमा आएपछि हवाई यात्रुको चाप स्वतः घट्नेछ। पर्यटकीय याममा सामान्य अवस्थामै पोखरा–जोमसोम उडानमा चाप रहने गरेकोमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुको संख्या थप बढेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जोमसोम क्षेत्रमा दिउँसो हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानै गर्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार अधिकांश उडान मध्याह्न १२ बज्नुअघि नै सम्पन्न हुने गरेका छन्।
वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। कम ‘भिजिबिलिटी’का कारण वर्षायाममा हरेक वर्ष यो हवाई सेवा प्रभावित हुने गरेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडकमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। करिब १२ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक सञ्चालनमा नआएपछि अहिले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि हवाई मार्ग प्रमुख विकल्प बनेको छ।




















प्रतिक्रिया