काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको वार्षिक बजेट पारित गरेको छ। विश्वविद्यालयको सिनेटबाट पारित उक्त बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
कुल बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ विश्वविद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्ने प्रक्षेपण गरिएको छ। बाँकी ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने बजेटबाट व्यहोर्ने अनुमान गरिएको छ।
विनियोजित बजेटमध्ये ८६.१४ प्रतिशत साधारण सञ्चालन खर्चतर्फ र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ छुट्याइएको छ। प्राध्यापक तथा कर्मचारीलाई प्रविधिमैत्री बनाउन र उनीहरूको दक्षता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
तर, नेपाल सरकारबाट प्राप्त हुने अनुदान रकम अघिल्लो वर्षको तुलनामा ४ अर्ब ९० करोड रुपैयाँले घटेपछि विश्वविद्यालयले वित्तीय दबाब सामना गर्नुपर्ने अवस्था देखिएको छ। विश्वविद्यालयका अनुसार राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्तासहितका दायित्व व्यवस्थापन गर्न ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ बजेट अपुग हुने देखिएको छ।
त्रिविले उक्त अपुग रकम उपलब्ध नभए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत व्यवस्थापन गर्न कठिन हुने जनाएको छ। त्यसैले आवश्यक रकमको व्यवस्था मिलाइदिन त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ।




















प्रतिक्रिया