काठमाडौँ । दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ। टिकट बुकिङ सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा टिकट काट्न यात्रुको लामो लाइन लागेको छ।
सरकारले दसैँमा घर फर्किने यात्रुको सुविधालाई ध्यानमा राख्दै शुक्रबारदेखि अग्रिम बस टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो। टिकट काट्नका लागि यात्रुहरू अघिल्लो रातिदेखि नै बसपार्क पुगेर लाइनमा बसेका थिए।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार राति ९ बजेदेखि नै यात्रुहरू टिकट लिन लाइनमा बस्न थालेका हुन्। दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ सुरु गरिएको हो।
यात्रुलाई टिकट काट्न तथा यात्राका क्रममा आवश्यक जानकारी लिन सहज होस् भन्ने उद्देश्यले नयाँ बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।
दसैँका बेला काठमाडौँबाट विभिन्न जिल्ला जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङले यात्राको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यात्रुलाई सम्भव भएसम्म समयमै टिकट काट्न र यात्रा गर्नुअघि बस छुट्ने समय तथा गन्तव्यबारे जानकारी लिन आग्रह गरिएको छ।

















प्रतिक्रिया