सडक अवरुद्ध हुँदा कोरलाबाट आयातित ५४३ टन फलफूल कन्टेनरमै सड्दै


मुस्ताङ । चीनबाट ११ दिनको अवधिमा नेपाल भित्रिएको ५४३ टन फलफूल सडक अवरुद्ध हुँदा अलपत्र परेको छ। भारी वर्षा र हिमपातपछि बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा आयातित फलफूल गन्तव्यमा पुर्‍याउन नसकिएको हो। लामो समयसम्म कन्टेनरमै थन्किँदा फलफूल सड्ने र बिग्रने जोखिम बढेको छ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङको क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा कोरलानाका हुँदै चिनियाँ फलफूल नेपाल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार यस अवधिमा स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन आयात भएको छ।

असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएपछि कोरलानाकाबाट भित्रिएका फलफूलजन्य मालवस्तु ढुवानी गर्न कठिनाइ भइरहेको छ। सडक अवरुद्ध हुँदा फलफूल बोकेका कन्टेनर लामो समयसम्म गन्तव्यमा पुग्न नसकेका हुन्।

यसको प्रत्यक्ष असर ड्रागन फ्रुटमा देखिएको छ। मुस्ताङको जोमसोममा बिहीबार एउटा कन्टेनरमा ल्याइएको ड्रागन फ्रुट कुहिन थालेपछि स्थानीयलाई वितरण गरिएको छ। करिब आठ टन ड्रागन फ्रुट समयमै बजार पुर्‍याउन नसकेपछि वितरण गर्नुपरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए।

सुनुवारका अनुसार उक्त ड्रागन फ्रुटको मूल्य मात्रै करिब २४ लाख ५० हजार रुपैयाँ थियो। ड्रागन फ्रुटको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्वसमेत जोड्दा अनुमानित ३० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

सडक अवरुद्ध भइरहँदा अन्य कन्टेनरमा रहेका फलफूलसमेत बिग्रने जोखिम बढेको छ। विशेषगरी छिटो नष्ट हुने फलफूल समयमै बजारसम्म पुर्‍याउन नसक्दा आयातकर्ता र व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।

कोरलानाकाबाट आयात हुने फलफूलको ढुवानी बेनी–जोमसोम–कोरला सडकमा निर्भर रहेकाले सडक अवरुद्ध हुँदा व्यापारसमेत प्रभावित भएको छ। सडक खुल्न ढिलाइ भए थप फलफूल बिग्रने र व्यवसायीको क्षति बढ्ने चिन्ता छ।