काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ । यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको लामो लाइनका कारण थप दुई घण्टा समय बढाइएको हो ।
नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानस्थलमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले मतदानको समय थप गर्ने निर्णय गरिएको हो । बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदमा नयाँ नेतृत्व चयन हुनेछ ।
निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पद र समावेशी समूहका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो । प्रतिनिधिहरूले विभिन्न पदका उम्मेदवारलाई मत दिनुपर्ने हुँदा मतदानस्थलमा समय लागेको छ ।
मतदानको समय थपिएसँगै साँझ ७ बजेसम्म प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । मतदान सम्पन्न भएपछि मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रिया निर्वाचन समितिको कार्यतालिकाअनुसार अघि बढ्नेछ ।

















प्रतिक्रिया