कांग्रेसको मतदान ७ बजे पनि सकिएन, लाइनमा रहेकाले मतदान गर्न पाउने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा लम्बिएको छ । दुई पटक समय थप्दा पनि मतदान सम्पन्न हुन नसकेको हो ।

बिहानदेखि सुरु भएको मतदानका लागि सुरुमा दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो । तर, निर्धारित समयमा मतदान नसकिने देखिएपछि पहिलो पटक दुई घण्टा थपेर साँझ ५ बजेसम्म पुर्‍याइएको थियो ।

साँझ ५ बजेसम्म पनि मतदान सम्पन्न नभएपछि दोस्रो पटक थप दुई घण्टा समय बढाएर राति ७ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर, दोस्रो पटक थपिएको समयसमेत सकिँदा मतदान प्रक्रिया पूरा हुन सकेन ।

मतदानस्थलमा प्रतिनिधिहरूको लाइन कायमै रहेकाले मतदान लम्बिएको हो । राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी अझै करिब ५०० महाधिवेशन प्रतिनिधिले मतदान गर्न बाँकी रहेको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत विभिन्न पदमा प्रतिनिधिहरूले मत दिइरहेका छन् । धेरै पद र क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढ्नेछ । सभापति पदको मतगणना भने आजै राष्ट्रिय सभागृहमा गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।