७.७ म्याग्निच्युडको भूकम्पले पानामा हल्लियो, दर्जनौँ संरचना ध्वस्त


काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पले राजधानी पानामा सिटीसम्म धक्का महसुस गराएको छ भने विभिन्न क्षेत्रमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा रहेको थियो ।

शक्तिशाली भूकम्पपछि परकम्पसमेत गएको छ । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले मुख्य भूकम्पपछि आउन सक्ने परकम्पलाई तत्कालको जोखिमका रूपमा औँल्याएका छन् ।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किए पनि अहिलेसम्म मानवीय क्षति नभएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण आसपासका केही घरमा चिरा परेको छ भने एउटा पुलमा समेत क्षति पुगेको छ । विद्युत् आपूर्ति पनि अवरुद्ध भएको जनाइएको छ ।

एल भेनाओका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई प्रतिक्रिया दिँदै अहिलेसम्म मानवीय क्षति नभएको विषय सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् ।

पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा भूकम्पबाट बढी क्षति पुगेको छ । विभिन्न स्थानमा सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पबाट प्रभावित केही घाइतेलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । यद्यपि, घाइतेको संख्या र भौतिक क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

शक्तिशाली भूकम्पपछि प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्ने तथा थप क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । परकम्पको सम्भावनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।