प्रविधिको प्रयोग बढाउँदा मानवीय संवेदना भुल्नु हुँदैन : पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकास भइरहेको वर्तमान समयमा नेपालको शिक्षा प्रणालीलाई व्यावहारिक, जीवनोपयोगी र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्।

शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउने प्रतिस्पर्धामा मात्र सीमित नराखी राष्ट्रप्रति जिम्मेवार, सिर्जनशील र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

उनले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि समयसापेक्ष सुधार आवश्यक रहेको बताए। शिक्षालाई सैद्धान्तिक ज्ञान हासिल गर्ने वा परीक्षामा राम्रो नतिजा ल्याउने माध्यमका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप र जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने क्षमता प्रदान गर्नुपर्ने धारणा राखे।

विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकासले विश्वमा नयाँ अवसर र चुनौती सिर्जना गरिरहेको भन्दै राष्ट्रपति पौडेलले विद्यार्थीलाई बदलिँदो परिस्थितिअनुसार तयार पार्नु आवश्यक रहेको बताए। प्रविधिको प्रयोग र आधुनिक ज्ञानको विकाससँगै मानवीय विवेक, संवेदनशीलता र जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ थियो।

‘विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्न आवश्यक छ। तर प्रविधिसँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलता पनि उत्तिकै सुदृढ हुनुपर्छ,’ उनले भने।

राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना, सामाजिक उत्तरदायित्व र नैतिक मूल्य मान्यताको विकास गराउनुपर्नेमा जोड दिए। आधुनिक ज्ञान र सीप हासिल गर्नुका साथै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्ने उनले बताए।

उनका अनुसार शिक्षाको वास्तविक उद्देश्य परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु मात्र होइन, समाज र राष्ट्रका समस्या बुझ्न सक्ने, तिनको समाधान खोज्न सक्ने तथा जिम्मेवारीपूर्वक निर्णय लिन सक्ने नागरिक निर्माण गर्नु हो। यसका लागि विद्यार्थीमा सिर्जनशील सोच, व्यावहारिक सीप र सामाजिक चेतनाको विकास आवश्यक रहेको उनले उल्लेख गरे।

शिक्षा प्रणालीमा अपेक्षित सुधार ल्याउन सरकार, नीति निर्माता, शिक्षक, अभिभावक र विद्यालय समुदायबीच प्रभावकारी सहकार्य हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। शैक्षिक नीतिको निर्माणदेखि त्यसको कार्यान्वयनसम्म सबै पक्षले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

विगतका शैक्षिक उपलब्धिलाई आधार बनाएर आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले नीति निर्माता, शिक्षक र अभिभावकलाई विद्यार्थीको समग्र विकासमा केन्द्रित हुन आग्रह गरे।

आधुनिक प्रविधिको उपयोग गर्दै मानवीय मूल्य, नैतिकता र राष्ट्रिय जिम्मेवारीलाई समेत प्राथमिकता दिने शिक्षा प्रणाली निर्माण गर्न सके मात्रै विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउन सकिने उनको सन्देश थियो।