काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिँदै जनताले उनीहरूमाथि गरेको आशा, भरोसा र विश्वास कायम राख्न आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्वमा निर्वाचित भएकोमा बधाई दिँदै भट्टराईले जनताको विश्वासको जगमा नेतृत्वमा पुगेका नेताहरूले त्यो विश्वास टुट्न दिन नहुने बताएका हुन्।
‘आशा, भरोसा र विश्वासको जगमा तपाईंहरू नेतृत्वमा आउनुभएको छ, टुट्न दिनुहुने छैन,’ भट्टराईले भनेका छन्।
उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा संविधानको प्रभावकारी कार्यान्वयनका विषयमा सहकार्य गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। स्वस्थ राजनीतिक प्रतिस्पर्धा र फराकिलो राजनीतिक संस्कृतिको विकास गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
भट्टराईले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा अस्वस्थ बन्न नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सहकार्य र प्रतिस्पर्धा अघि बढाउनुपर्ने सन्देश दिएका छन्।
उनले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको प्रवृत्तिबाट मुलुकलाई मुक्त गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन्।
‘तपाईं/हाम्रो साझा प्रयत्नले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ। सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुछ,’ भट्टराईले उल्लेख गरेका छन्।
एमाले उपमहासचिव भट्टराईले कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा समस्त कांग्रेसजनलाई पनि बधाई दिएका छन्। उनले नयाँ नेतृत्वले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र मुलुकको विकासमा भूमिका खेल्ने अपेक्षासहित सहकार्यको सन्देश दिएका हुन्।

















प्रतिक्रिया