आज घटस्थापना : दसैँको पहिलो दिन, घरघरमा जमरा राखिँदै


काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी दुर्गा पक्षको आरम्भ गरिँदै छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा कोठा वा दसैँघरमा पवित्र जलसहित कलश स्थापना गरिन्छ। त्यसैगरी, जौ छरेर जमरा राख्ने परम्परा छ। नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा–आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ।

बडादसैँ नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक महत्त्व बोकेको पर्व हो। दसैँका अवसरमा परिवारका सदस्य तथा आफन्त एकै ठाउँमा भेला हुने, मान्यजनबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान र चहलपहल सुरु भएको छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेपछि दसैँको मुख्य उत्सव मनाइन्छ।