भीमसेन थापाको वृद्धाश्रमबाट ज्येष्ठ नागरिक र गाईको उद्धार


गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीको भल वृद्धाश्रमको चौरसम्म पुगेपछि भीमसेन थापा गाउँपालिकास्थित बुढीगण्डकी वृद्धाश्रमका ज्येष्ठ नागरिक र गाईबस्तुलाई सुरक्षित स्थानमा सारिएको छ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराका अनुसार नदी किनारमा रहेको वृद्धाश्रमको चौरसम्म भल पसेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिक तथा गाईबस्तुलाई टारीफाँटमा स्थानान्तरण गरिएको हो।

बुढीगण्डकी नदीको तटभन्दा केही माथि बस्ती रहेकाले गाउँपालिकाको क्षेत्रमा अन्यत्रको तुलनामा ठूलो क्षति नभएको अध्यक्ष बञ्जाराले बताए।

उनका अनुसार वृद्धाश्रमको भौतिक संरचनामा कुनै क्षति पुगेको छैन। गाउँपालिकाका अन्य नदी तटीय क्षेत्र पनि हालसम्म सुरक्षित रहेको उनले जानकारी दिए।

बाढीका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ।