वर्षा नहुँदै बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी, कसरी बन्यो विनाशकारी भेल ?


काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदो र गेग्रानसहितको भीषण बाढीले बस्ती, घर र पुलमा ठूलो क्षति पुर्‍याएको छ । उत्तरी गोरखामा उल्लेख्य वर्षा नभए पनि एक्कासि आएको बाढीले स्थानीयलाई त्रसित बनाएको छ । बाढीको वास्तविक कारणबारे अध्ययन भइरहेका बेला नदीमा मिसिने साना खोलामा पहिरो गएर पानी थुनिएको र त्यसपछि बनेको ताल फुटेको हुन सक्ने प्रारम्भिक विवरणहरू आएका छन् ।

बाढीले गोरखाको चुमनुब्री र धार्चे क्षेत्रदेखि आरुघाट आसपाससम्म क्षति पुर्‍याएको छ । दुईवटा पुलसहित दर्जनौँ घर बगाएको विवरण सार्वजनिक भएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पमा समेत क्षति पुगेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भदौ १० मा भोटेकोशीमा आएको बाढी र आइतबार बुढीगण्डकीमा आएको बाढीको सम्भावित उद्गम क्षेत्रबीच आकाशीय दूरी करिब ७० किलोमिटर छ । करिब ४७ दिनको अन्तरालमा नजिकैका क्षेत्रमा दुई ठूला विपद् देखिएका छन् । भोटेकोशीको बाढी हिमचट्टानको पहिरोसँग जोडिएको थियो भने बुढीगण्डकीको बाढीको कारण र उत्पत्तिस्थलबारे थप अध्ययन आवश्यक रहेको उनले बताएका छन् ।

स्थानीय बासिन्दा र माथिल्लो गोरखाको भौगोलिक अवस्था बुझेका व्यक्तिहरूबाट प्राप्त विवरणअनुसार बिही र चुमचेतबीच पहिरो गएर स्यार खोला थुनिएको हुन सक्ने आशंका गरिएको छ । त्यसबाट बनेको तालको पानी चुम्लिङ नजिकसम्म फैलिएको र बाँध फुटेपछि लेदो तथा गेग्रानसहितको भेल तलतिर बगेको हुन सक्ने बताइएको छ ।

त्यस क्रममा बगेको लेदो र गेग्रानले नदी किनार कटान गर्दा स्यार खोला र बुढीगण्डकीको दोभान आसपास अर्को पहिरो गएको र पुनः पानी थुनिएको हुन सक्ने स्थानीयको भनाइ छ । यसरी माथिल्लो र तल्लो क्षेत्रमा पानी थुनिने तथा बाँध फुट्ने क्रम दोहोरिँदा बाढी पटकपटक उर्लिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो विवरणको आधिकारिक पुष्टि हुन बाँकी छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गोरखाको उत्तरी क्षेत्रमा उल्लेख्य वर्षा भएको अभिलेख छैन । वर्षा नहुँदा पनि यति ठूलो बाढी आउनुले नदीको माथिल्लो क्षेत्रमा पहिरोका कारण पानी थुनिएर एक्कासि खुलेको सम्भावनालाई थप अध्ययन गर्नुपर्ने देखाएको छ ।

बाढीको प्रकृति, उत्पत्तिस्थल र क्षतिको यकिन विवरण संकलन गर्न सम्बन्धित निकायले अध्ययन तथा खोजी अघि बढाउनुपर्ने देखिएको छ । बाढीले पुल र घर बगाउनुका साथै नदी तटीय क्षेत्रमा जोखिम बढाएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।