नदी तटीय क्षेत्रमा जोखिम बढेपछि देउवाले गरे सतर्क रहन आग्रह


काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले तटीय बस्तीमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको र स्थानीयको जनजीवन प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नदीमा बाढीको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन अपिल गरेका छन् ।

देउवाले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ देउवाले फेसबुकमा लेखेका छन् ।

लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले पनि नदी किनारका बासिन्दालाई सुरक्षित रहन र नदी तटको नजिक नजान आग्रह गरेको छ । सम्भावित जोखिमबाट जोगिन सतर्कता अपनाउनुका साथै आवश्यक परे सुरक्षित स्थानमा सर्नुपर्ने देखिएको छ ।