गोरखामा बाढीको कहर, चार जलविद्युत् आयोजनामा क्षति


गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले आयोजनाका मुख्य क्याम्प, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल जोड्ने पुलमा क्षति पुर्‍याएको प्रारम्भिक विवरणले देखाएको छ ।

बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ । टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बाढीले बगाएको जनाइएको छ ।

त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाको बेलिब्रिजसमेत बाढीले बगाएको छ । पुलमा क्षति पुगेपछि आयोजनास्थलसम्मको आवागमन प्रभावित हुने देखिएको छ ।

३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ । यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री र उपकरण बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ । वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा भएको क्षतिले निर्माण कार्य र आयोजनास्थलसम्मको आवागमन प्रभावित हुन सक्ने देखिएको छ ।

बूढीगण्डकी नदीमा आएको बाढीले चारवटै आयोजनाको निर्माण कार्यमा असर पार्ने देखिए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ । बाढीबाट भएको कुल आर्थिक नोक्सानी, निर्माण कार्य पुनः सञ्चालन गर्न लाग्ने समय तथा संरचना पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।