काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले चीनस्थित नेपाली दूतावासको भ्रमण गरेका छन् । चीनमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका उनले दूतावासका कार्यवाहक राजदूत रोशन खनालसहितका कर्मचारीसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।
द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पराजुली चीन पुगेका हुन् । दूतावासका अनुसार भेटका क्रममा नेपाल–चीन सम्बन्ध, चीनको आर्थिक विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपालले लिन सक्ने लाभबारे छलफल भएको थियो ।
विश्वशक्तिका रूपमा उदाउँदै गरेको चीनले आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा पराजुलीले आफ्नो धारणा राखेका थिए । साथै, दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन कूटनीतिक नियोगले खेल्नुपर्ने भूमिकाबारे पनि उनले चर्चा गरेका थिए ।
एसोसिएसनले आयोजना गरेको कार्यक्रममा ग्लोबल साउथ तथा युरोपेली देशका सांसदहरू सहभागी हुने बताइएको छ । उक्त कार्यक्रममा सांसद पराजुलीले नेपालमा हालै आएको भोटेकोशी बाढी र जलवायु परिवर्तनका विषयमा नेपालको धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।
चीन भ्रमणका क्रममा पराजुलीले विभिन्न देशका सांसद तथा उच्चस्तरीय प्रतिनिधिसँग साइडलाइन भेटघाट गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ । यस्ता भेटघाटले नेपालका चासो, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया